काठमाडौं । नेकपा माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण हुने भएको छ । शनिबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष भट्टराईबीच भएको छलफलमा दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।

नेसपाका नेता गंगा श्रेष्ठका अनुसार अब छिट्टै दुई पार्टीबीच एकता हुने भएको छ । उनले दुई अध्यक्षबीच सहमति भएको बताउँदै छिट्टै एकता हुने बताएका छन् ।
नेकपा माओवादी र नेसपाबीच चुनावताका नै एकता गर्नेबारे छलफल भएको थियो । एकताबारे प्रचण्ड र डा. भट्टराईबीच छलफल हुँदै आएपनि शनिबार सहमति जुटेको हो । नेसपासँग एकताबारे माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रस्ताव गरिने भएको छ । माअोवादीको आजै पदाधिकारी बैठक बस्दैछ ।
यस्तै, आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा एकताको प्रस्ताव गर्ने भएको छ । बैठकबाट पार्टी एकतालाई मूर्तरुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताएका छन् ।
पार्टी एकतापछिको डा भट्टराईको स्थान के हुन्छ भन्नेबारे एकता हुने बेलामै तय गरिने भएको पनि नेता श्रेष्ठले बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एकताबारे छलफलमा प्रचण्ड र बाबुरामका आलावा नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे सहभागी थिए ।












