Logo
Logo

इन्द्र आङ्बो मन्त्री नबन्ने, साढे दुई वर्षपछि मुख्यमन्त्री बन्ने


4.9k
Shares

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश १ मा आलोपालोका आधारमा मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
वर्तमान सत्ता गठबन्धनका दुई ठूला दल एमाले–माओवादीको सहमतिसँगै पहिलो चरणमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् ।

सहमतिअनुसार साढे दुई वर्षपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ मुख्यमन्त्री बन्ने छन् । दुई दलबीच आलोपालोका आधारमा मुख्यमन्त्री बन्ने लिखित सहमति भएको हो । प्रदेश १ मा गठबन्धन दलले आज मुख्यमन्त्री दाबी गर्दैछन् ।

पहिलो चरणमै मुख्यमन्त्री बन्ने तयारी गरेका इन्द्र सहमतिका आधारमा दोस्रो चरणमा मात्र मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि दुईपटक आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका इन्द्र हिक्मत नेतृत्वको सरकारमा मन्त्री भने नबन्ने भएका छन् ।

आङ्बोले भने– ‘निर्वाचनमा मैले मुख्यमन्त्रीका लागि भोट मागेको हो । म दुईपटक मन्त्री भइसकेकाले फेरि मन्त्री बन्दिनँ, मुख्यमन्त्रीका लागि भोट दिनुस् भनेको छु । यस आधारमा पनि म यसपटक मन्त्री बन्दिनँ ।’

दुईपटक आर्थिक मामिलामन्त्रीका रुपमा राम्रो काम गरेर प्रदेश १ मा लोकप्रिय बनेका इन्द्र यसपटक जसरी पनि मुख्यमन्त्री बन्ने योजनामा छन् । तर, पहिलो कार्यकालका लागि मुख्यमन्त्री बन्न समीकरण नमिलेका कारण दोस्रो कार्यकालका लागि तयार भएका हुन् ।

आङ्बोले भने– ‘सहमति अनुसार अब बन्ने सरकारको आधा कार्यकाल संसदीय दलको नेताको हैसियतमा सरकारलाई सफल बनाउन सहयोग गर्छु । यस अवधिमा मन्त्री बन्दिनँ । साढे दुई पर्खेर मुख्यमन्त्री बन्छु ।’

एमालेका शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा काम गरेका आङ्बोले आज बेलुकासम्म कायम रहने एकीकृत समाजवादीका राजेन्द्र राई नेतृत्वको सरकारमा पनि सोही मन्त्रीका रुपमा जिम्मेवारी निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्