काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रममा पुष २७ गते पृथ्वी जयन्तीको रुपमा एकता दिवस मानाउने र सो दिन सार्वजनिक विदा दिने विषयप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

गणतन्त्रमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको प्रतिगमनकै पहिलो कदम हुने महासंघको निष्कर्ष रहेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै महासङ्घका अध्यक्ष गेल्जे शेर्पाले भने- ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो, यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हो ।’
यस्तै, महासंघले मन्त्री तथा सांसदको सथप ग्रहणमा दौरासुरुवाल र खस-नेपाली भाषालाई मात्र राष्ट्रिय पोशा र राष्ट्र भाषा बनाउने राज्यको क्रियाकलाप संविधान २०७२ को भावना र मर्ममाथि समेत ठाडो प्रहार भएको भन्दै विरोध जनाएको छ ।
‘मन्त्री तथा सांसदको सथप ग्रहणमा दौरासुरुवाल र खस-नेपाली भाषालाई मात्र राष्ट्रिय पोशा र राष्ट्र भाषा बनाउने गरी क्रियाकलापहरु भइरहेका छन् । यसले नेपालको राष्ट्र र राष्ट्रियताको गलत व्याख्या गरी बहुभाषियक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता रंगीन विविधताको उपहास गर्नु साथै संविधानसभाबाट जारी नेपालको संविधान, २०७२को भावना र मर्ममाथि समेत ठाडो प्रहार गरेको हाम्रो ठहर छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले राज्यको पछिल्लो गतिविधिले ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक/समावेशी व्यवस्थामाथि गम्भिर चुनौती थपिएको समेत उल्लेख गरेको छ ।
सबै जाती, भाषा, धर्म र संस्कृतिको साझा सहमति र संकल्पमा मात्रै राष्ट्रिय एकता खोज्नुपर्ने भन्दै महासंघले कुनै राजा महाराजाको जन्मदिनलाई एकताको दिवस र प्रतिक मान्न कदापी नसकिनेर संघीय नेपालमा एकात्मक सोच र चिन्तनबाट गरिने यस्ता गतिविधिहरु तत्काल सच्याउन आग्रह समेत गरेको छ ।
यस्तै महासंघले सरकारले आफ्नो आग्रहलाई बेवास्ता गरी थप यस्ता गतिविधिलाई बढावा दिने खालका क्रियाकलाप गरिए सशक्त आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ ।












