काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली सबैलाई अहिले सफलता मिलेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पाएको बलियो विश्वासको मतले अब देश र जनतालाई सुशासन दिएर अघि बढ्नेसमेत बताए ।

बुधबार काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले नेपाल र नेपाली सबैलाई यो सफलता मिलेको छ । यो पटक पार्टी र सरकार सफल हुने कुरामा शंका छैन ।’
जनयुद्ध हुँदै गर्दा राज्यले किलोशेरा–टु अप्रेशन चलाएको र त्यो बेला पार्टीका कतिपयमा निराशा छाएको स्मरण गर्दै उनले भने, ‘त्यही बेला जनयुद्ध दुई तीन वर्ष पनि जाँदैनथ्यो कि भन्ने थियो । तर, हामीले युवाहरुलाई नेतृत्वमा ल्याएर जनयुद्ध सफल बनायौँ ।’
उनले अब आफू भ्रष्टाचार निणन्त्रणमा कठोर हुुने समेत बताए । ‘अब हामीले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुछ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ । समाजवादतिरको यात्राको आरम्भको बिन्दु यही हुन सक्छ । यतिबेला सरकार र पार्टीलाई सहयोग चाहिएको छ ।’












