काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएको गलत प्रवृत्तिको शिकार नहुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् ।
बुधबार नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियुले गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग गल्ती महशुस नगर्ने, आफैँ मात्र जान्ने सुन्ने र सुप्रिमोमा हुने गलत प्रवृत्तिको शिकार नहुन आग्रह गरेका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै पुन संसद् विघटनको खतरा कायम रहेकाले त्यसतर्फ समेत सचेत रहन आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘गल्ती महसुस नै नगर्ने प्रवृत्ति राजनीतिक वृत्तमा देखिन्छ । मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ठान्ने सुप्रिम र सुप्रिमो ठान्ने प्रवृति देखिन्छ । यसको शिकार वर्तमान प्रधानमन्त्री नभइदिनुहोला, मेरो आग्रह छ ।’
उनले संविधानको मर्म र भावनालाई अवलम्बन गर्न, राम्रो संस्कारलाई पछ्याउँदै विकासको गति लिने काममा भूमिका खेल्न सके इतिहासमा नाम कमाउन सक्ने बताउँदै भने, ‘वर्तमान सरकार इमानदारिता र निष्ठाका साथ अघि बढ्नुपर्छ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्रीय सरकारमा नगएर प्रतिपक्षमा रहेको भन्दै विश्वासको मत मात्र दिएको बताए । वर्तमान सरकारले आफुसँग गर्ने व्यवहारका आधारमा सरकारसँगको सम्वन्धको सीमा तय हुने उनको भनाइ छ ।












