काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
भुसाल भोलि (शुक्रबार) एक कार्यक्रमकाबीच नेकपा एस प्रवेश गर्न लागेका हुन् । भुसाललाई स्वागत गर्न नयाँ बानेश्वरस्थित होटल अर्यालमा कार्यक्रम गरिँदैछ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनलाई शुक्रबार पार्टीमा स्वागत गर्ने कार्यक्रम छ । तर, कुन पद भन्ने विषयमा भने टुंगो लागिसकेको छैन ।
एमालेको स्थायी कमिटी सदस्य रहेका भुसालले गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।
त्यसपछि तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समर्थन निर्वाचन लडे पनि उनले जित्न सकेनन् । नेता भुसाल नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हारेका थिए ।
माधवकुमार नेपाल पक्षले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा पनि भुसाललगायत १० जना नेताहरू एमालेमा नै बसेका थिए । एमालेमा बसेका नेपाल निकट मानिएका नेताहरू १० बुँदे सम्झौता गरी एमालेमै बसेका थिए ।
तर, चुनावमा भुसालसहित नेता भीम रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । टिकट नपाए पनि नेता रावल एमालेमै बसेका छन् भने भुसालले तत्काल पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।












