Logo
Logo

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल उम्मेदवार



कास्की । सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको आज साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१)बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सो दलका नेता एवम् प्रदेश सरकारका विनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए । 

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबन्डा गरिएको थियो । सोहीअनुसार नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ  । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन। 

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्