मकवानपुर । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगत रुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार हुन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा छन् ।

यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैँजू छन् ।
प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य हुन् ।
प्रदेशसभाको बैठक माघ २ गते
बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको उपसभामुख पदको निर्वाचन गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिए । आगामी माघ २ गते अपराह्न ३ बजे बस्ने बैठकमा उपसभामुख पदको निर्वाचनको लागि सभामुख पाठकले प्रुमख सचिव खड्कालाई समयतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार, प्रदेशसभाका प्रमुख सचिव खड्काले उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरे । सार्वजनिक कार्यतालिका अनुसार, उपसभामुखको निर्वाचन माघ २ गते तोकिएको छ ।
नवनिर्वाचित सभामुख पाठकले शपथग्रहण लगत्तै प्रदेशसभा सचिवालयमा जानुभई आफ्नो कार्यभार सम्हालेका छन् ।ग
उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दलका शीर्ष नेताले नवनिर्वाचित सभामुख पाठकलाई बधाई ज्ञापन गर्दै प्रजातान्त्रिक मूल्यमान्यता संवैधानिक प्रक्रियालाई आत्मसात गरी प्रदेशको गरिमा बढाउन आग्रह गरे ।
उनीहरूले मुलुकको सार्वभौमसत्ता, प्रदेशको मूल्यमान्यतालाई मर्यादित एवम् जनताप्रति उत्तरदायित्व बोध हुने गरी सभामुखले आफ्नो भूमिकालाई निष्पक्षताका साथ ग्रहण गर्न र सबै राजनीतिक दलको भावनालाई बुझेर प्रदेशसभाले लिनुपर्ने ऐन, कानून तर्जुमा गर्न सभामुखलाई सुझाव दिए ।
उनीहरुले कुनै दलको तर्फबाट उम्मेदवार भएर आएको भएपनि प्रदेशसभाबाट निर्वाचित भएका सभामुख सबैको साझा व्यक्तित्व भएको हुँदा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक, ऐन कानूनलाई परिपक्व र मर्यादित ढंगबाट क्रियाशील हुन आह्वान गरे ।
बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका युवराज दुलाल, नेकपा एमालेका हरि सापकोटा, राप्रपाका संसदीय दलका नेता उद्धव थापा, नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद शर्मा खनाल, नेमकिपाका सुरेन्द्रराज गोरसाईँ र हाम्रो नेपालीबाट शैलेन्द्रराज बज्राचार्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक माघ २ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।











