Logo
Logo

बागमती प्रदेश उपसभामुखकाे निर्वाचन आज



हेटौंडा । बागमती प्रदेशको उपसभामुखका लागि आज (सोमबार) निर्वाचन हुँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि निर्वाचन हुन लागेको हो।

सोमबार बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि मत विभाजन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । शुक्रबार निर्वाचन प्रणाली मार्फत नै सभामुख चयन गरेको बागमतीमा उपसभामुखको निर्वाचन तालिका सार्वजनिक भएको थियो ।

उपसभामुखका लागि तीन जनाको उम्मेदवारी शुक्रबार नै दर्ता भइसकेको छ । सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो । राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भइसकेका छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको नेतृत्व छ । प्रदेशसभाको ५ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्