
काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको आज बुधबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको कीर्तिपुरस्थि बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आचार्यको निधन भएपछि उनका आफन्त र परिवारका सदस्यहरु अस्पतालमा जम्मा भएका छन् । आचार्यका परिवार र आफन्तहरू अस्पताल पुगेपनि अहिलेसम्म शव भने जिम्मा लिएका छैनन् ।
शव लिनुअघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधन गर्नुपर्ने आफन्तको भनाई छ । आचार्यले राज्यप्रति वितृष्णा प्रकट गर्दै संघिय संसद भवन अगाडि आत्मादाहको प्रयास गरेपनि सरकारका कुनैपनि निकायबाट कुनैपनि प्रकारको प्रतिक्रिया नआएको मृतक आचार्यका मामा बसन्त भट्टराईले बताए ।
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल भएको तर कुनै जवाफ नआएको उनले बताए । उनले आज दिउँसो २ बजेसम्म सरकारको प्रतिक्रिया पर्खिने बताए । ‘हामीले २ बजेसम्म समय मागेका छौं । त्यसपछि पनि उहाँहरुले कुनै रेस्पोन्स गर्नुभएन भने हामी शव लिएर जानेछौं’ भट्टराईले भने ।
प्रहरी र अस्पताल प्रशासनले पनि छिटोभन्दा छिटो शव बुझ्न आफन्तलाई दबाब दिइरहेका छन्। तर, सरकारको तर्फबाट कुनै सम्बोधन नभएको कारण आफन्तले शव बुझ्न मानेका छैनन् ।
मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन्। आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाइदिन आग्रह गरेका थिए ।












