काठमाडौं । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी ७३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको एकीकृत वित्तीय विवरणअनुसार सबै सूचक सकारत्मक देखिएका छन् ।
बैंकले पुस मसान्तसम्म २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । मेगा बैंकको समेत नाफा जोडिँदा बैंकको खुद ब्याज आम्दानीमा उछाल आएको हो । एकीकृत खुद नाफा पोहोरभन्दा २८.४४ प्रतिशतले बढेको छ ।

गत आवको पुसमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । संयुक्त कारोबारले गर्दा खुद ब्याज आम्दानीले फराकिलो फड्को मारेको छ । खुद ब्याज आम्दानी ७३.९३ प्रतिशतले बढेको देखिएको छ ।
बैंकले खुद ब्याज आम्दानीबापत ४ अर्ब १८ करोड रुपैयाँ बढी आर्जन गरेको छ । गत वर्ष २ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै वित्तीय विवरण अनुसार संचालन मुनाफा २३.८९ प्रतिशतले बढेको छ । खुद फि आम्दानी पनि ४.१४ प्रतिशतले बढेको छ ।
तर, संयुक्त कारोबारपछि बैंकको खराब कर्जा ह्वात्तै बढेको छ । पुससम्म ६० करोड ८३ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापनबापत छुट्याएको हो । बैंकका अनुसार गत वर्ष बिग्रिएको कर्जाबापत ४ करोड रुपैयाँभन्दा बढी रकम रिभर्सलमा थियो ।
उल्लेख्य नाफाका बाबजुद बैंकको वितरणयोग्य नोक्सानी भने एक अर्ब ६० करोड रुपैयाँ नाघेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब र जगेडा कोषमा २३ अर्ब ५५ करोड सञ्चित छ । सो अवधिमा बैंकको प्रति सेयर आम्दानी १५.६१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६४.९१ रुपैयाँ रहेको छ ।











