काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री सुदन किरातीले नेपाल ट्रष्टको आम्दानीले पशुपति र लुम्बिनीमा विश्व विद्यालय खोल्न सकिने बताएका छन् । ट्रष्टको जिम्मेवारी पाएपछि आज अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् ।

पदभार ग्रहणपछि सम्बोधन गर्दै मन्त्री किरातीले भने– ‘ट्रष्टको नामावलीमा शिक्षा क्षेत्रमा लगानी गर्ने नीति रहेको छ । विश्वले ठूलाठूला आणविक हतियार बनाउन सक्ला । विज्ञानमा ठूलो परिवर्तन ल्याउन सक्लान् तर हाम्रो सगरमाथा पशुपति र लुम्बिनीको फोटोकपी गर्न सक्दैनन् । त्यसैले विश्वको हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा हामीले विश्व हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव अगाडि किन न बढाउने ? लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापनाका लागि ट्रष्टले त्यो योजना अगाडि बढाउनु पर्छ ।’
उनले सगरमाथा, लुम्बिनी, पशुपति नेपालको सम्पत्ति भएको बताए । मन्त्री किरातीले भने– ‘ठूला राष्ट्रहरूले आकाशको पनि भागबन्डा गर्न सक्छ । जूनघाम पनि बनाए रे । तर सगरमाथा त बनाउन सक्दैन नि । लुम्बिनी त बनाउन सक्दैन नि । पशुपति त बनाउन सक्दैन नि । यी सम्पदाहरू नेपालका सम्पत्ति हुन् ।’
मान्छे अजम्बरी हुनलाई राम्रो काम गर्नुपर्ने मन्त्री किरातीको भनाइ थियो । उनले भने, ‘मानिस जन्मिएपछि मर्छ भन्ने अनुभूति मात्रै गर्ने हो भने कसैले नकरात्मक काम गर्ने थिएनन् । मान्छे अजम्बरी हुनलाई त राम्रोको काम गर्नुपर्छ ।’
मन्त्री किरातीले ट्रष्टबाट धेरै उदाहरणीय काम गर्न सकिने बताए । उनले कर्मचारीहरूलाई निर्धक्क भएको काम गर्न अनुरोध पनि गरे । उनले आफू पनि कर्मचारीसँगै हातेमालो गरेर काम गर्ने बताए ।
उनले भने– ‘म त तपाईँहरूको नेतृत्व प्लेनको पाइलट जस्तो जहाजको ककपिटमा बसेर जहाज उडाउने होइन । हामी त अफ्ठ्यारो नदीमा र्याफ्टिङ गर्दै गरेका छौँ । र्याफ्टिङ सबैको भूमिका उस्तै हुन्छ ।’
मन्त्री किरातीले दुई हप्ताभित्रका कार्ययोजना बनाउन निर्देशन दिए । नीतिगत अफ्ठ्यराे परे आफूले सहयोग गर्ने उनले बताए ।
उनले भने, ‘देशव्यापी रुपमा भएको सम्पत्तिको खोजी गर्ने यो संस्थाको काम हो । यो कार्ययोजनामै रहेछ । त्यसको संरक्षण गर्ने र त्यसको उपयुक्त ढंगले परिचालन गर्ने त्यो सिद्धान्त भयो । अब त्यो कार्यक्रमको आधारमा कार्ययोजना हुनुपर्छ । अब तपाईँहरूको दुई हप्ताभित्रमा कार्ययोजना बनाउनुपर्छ, नीतिगत अफ्ठ्यराे के छ म सहयोग गर्छु । म अघि बढ्छु तपाईँहरूले साथ दिनुहोस् ।’
उनले देशमा धेरै काम गर्न बाँकी भएको र आफूले जात, क्षेत्र, लिङ्गको आधारमा कसैलाई विभेद नगर्ने बताए ।














