काठमाडौं । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको संयन्त्रको बैठकमा सरकारका अहिलेसम्मका भएका कामका समीक्षा भएको राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकमा संयन्त्रका संयोजक ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति रवि लामिछाने सहभागी थिए । बैठकबाट आफू भने निस्किएको जानकारी दिँदै प्रधानमन्त्री लिङ्देनले अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भएका बताए ।
उनले राष्ट्रपति निर्वाचनका बारेमा भने छलफल नभएको बताए । उनले भने, ‘राष्ट्रपति चुनावका बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि ।’
सत्तारुढ गठबन्धनमा यसअघि राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो तर, प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै कांग्रेससँगको सहकार्यमा जोड दिएपछि एमाले संशकित भएको छ ।











