Logo
Logo

रेशम छुटाउन म आजैदेखि लागिसकेँ : मुख्यमन्त्री शाह


2.3k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरी जेलबाट छुटाउन आजैदेखि लागिसकेँको बताएका छन् । शनिबार बिहान मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरीकाे घरमा पुगेर उनकी आमासँग भेट गर्दै चौधरीलाई जेलबाट छुटाउन अभियान थालिसकेको बताएका हुन् ।

हिजो(शुक्रबार) मात्र कार्यभार सम्हालेका मुख्यमन्त्री शाहले टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई छुटाउन आफूले अभियान थालिसकेको र त्यसमा आफू लागिसकेको बताएका छन् ।

उनले कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुरमा रहेको रेशमको घरमै पुगेर उनकी आमा सुल्फीदेवी चौधरीलाई धन्यवाद पनि दिएका थिए। रेशमकी आमासँग उनले भने, ‘तपाईंहरूकै आशीर्वादले म मुख्यमन्त्री बनेको हुँ’ ।

यस्तै, टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाइ थियो। ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्‍याएको छ। हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ। म त्यसको लागि लागिपरेको छु।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टी प्रदेशसभा बैठकमा उपस्थित नभएपछि विश्वासको मत नपाएर राजीनामा दिएका थिए। रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ । उनले आफूले ३० दिन भित्र विश्वासको मत पाउने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्