काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले आफैं राष्ट्रपति बन्नेबारे सोचिनसकेको बताएका छन् । मंगलबार दाङमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘चाहना राख्ने बेग्लै कुरा भयो । मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन, तर, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने धारणा छ । हामी अरुका निम्ति मात्रै सधैं बलिदान हुने, अरुले फाइदा उठाउने कुरा हुनसक्दैन ।’
उनले पावर सेयरिङमा पार्टीको भूमिका हुनुपर्ने बताउँदै सधैँभरी अरूको निम्ति मात्रै बलिदान दिन नसकिने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरि अरूको निम्ति मात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’
अध्यक्ष नेपालले राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेस र माओवादी केन्द्रसँग आफूहरूको कुराकानी भएको बताए । उनले त्यतिबेला आफूहरूले केही नामहरू अघि सारेको र उनीहरूको सहमति रहेको बताए ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवारको रुपमा नेपाललाई नै अघि सार्न लागेको समाचारहरू सार्वजनिक भइरहेका छन्।














