काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले इतिहास रचेको छ ।
आज (मंगलबार) टियु मैदानमा भएको खेलमा स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जिन निकाल्दै नेपालले इतिहास रचेको हो । त्रिकोणात्मक सिरिज सुरु भएदेखि शतप्रतिश जित निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।
त्यस्तै नेपालका लागि ज्ञानेन्द्र मल्लले २१ रन, आसीफ सेखले १२, कुसल मल्लले १७, दीपेन्द्र सिंह ऐरीले ७ रन जोड्दा कुशल भुर्तेलले १ रनमा आउट भएका थिए ।
स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो । स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट भएका थिए ।
एक समय ३१.५ ओभरमा १३८ रन जाेड्दा ८ विकेट गुमाएकाे नेपाललाई करण केसी र रोहित पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाएका हुन् । कप्तान रोहितले चौका प्रहार गर्दै खेल सकाएका थिए ।

त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाएका थिए ।
नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए । कुशल मल्लले ६ ओभरमा ३० रन खर्चेर १ विकेट लिँदा करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिएका थिए ।
नेपालले पहिलो खेलमा स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नेपालले स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको विजयी लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यो जितसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन सहज हुने भएकाे छ । स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २८ खेलमा ११ मा जित र १५ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ८ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।
शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ८ मध्य ४ खेल जित्नुपर्ने हुन्छ ।














