म्याङलुङ । तेह्रथुमको आठराई–६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । शनिबार दिउँसोदेसख नजिकको जंगलमा लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो वस्तीमा पसेपछि ७ वटा घर जलेर नष्ट भएको वडाअध्यक्ष कृष्ण बास्कोटाले बताए । उनका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । हावा समेत चलिरहेकाले अझ डढेलो गाउँका घर भेट्ने त्रास रहेको उनले बताए ।
विकट ठाउँ भएकाले दमकल लैजान समस्या भएको र जंगलमा सकेको पतिङगरका कारण आगो नियन्त्रणमा कठिनाइ भएको छ । उनका अनुसार अहिले धुवाँले गाउँ नै छोपेको छ ।
*आगो निभाउन खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेका अनुसार गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको उनले बताए ।
आगो निभाउन प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको स्थानीयले बताएका छन् । पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । आगलागीको कारण खुल्न सकेको छैन ।














