काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको राष्ट्रपतिमा विजयी हुने सुनिश्चि भएको बताएका छन् ।
शनिबार महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत अध्यक्ष नेपालले रामचन्द्र पौडेल राष्ट्रपति बन्ने निश्चित भएको बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘उहाँलाई बधाई पछि दिउँला । हामीले आजमात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य विजयी हुनुहुनेछ भन्ने हामी सबैले आशा गरिरहेका छौं ।’
अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै भने, ‘यस अर्थमा सबै व्यक्तिहरु जुनसुकै ओदोहामा किन नहुनुहोस् । आफ्नो ओहोदाको मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढने कुरामा हामी कटिवद्ध होऊ भन्न चाहन्छु ।’ जनताको चाहनालाई साकार पार्ने गरी अघि बढन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनले आग्रह गरे ।
मुलुक रुपान्तरणको यो महान अभियानमा गम्भिर भएर अघि बढन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले भने, ‘त्यसै अभियानलाई साथ दिन ८ राजनीतिक दलहरु एक ठाउँमा उभिने निष्कर्षमा पुगेका हौँ ।’ संघीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु एक भएर बढन तयार भएको उनको भनाइ छ ।














