Logo
Logo

राष्ट्रपति निर्वाचनमा नेम्बाङलाई मत माग्दै स्वतन्त्रसहित १७ दललाई एमालेको पत्र


630
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवार सुवास नेम्बाङलाई सहयोग गर्न आग्रह गर्दै नेपाली कांग्रेसबाहेक संसदमा रहेका सबै राजनीतिक दललाई पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार संसदमा रहेका १७ दललाई राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका हुन् ।

एमाले अध्यक्ष ओलीले लेखेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ अनुरोध गर्दछु ।’

यस्तै, एमालेले २०७९ को नयाँ जनादेशअनुरुप गत १० पुसमा सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गराएको जनाएको छ ।

शनिबार नै एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्