काठमाडौं । राष्ट्रपति उम्मेदवार चयनपछि पहिलो पटक बसेको आठ दलीय बैठकले राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको सहमतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा अगाडि सारेका छन् ।

प्रत्येक दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
आठ दलीय गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।
जसपा नेता श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचनमा मिलेर अगाडि बढ्ने सन्दर्भमा निर्वाचन प्रचार कार्यक्रम कसरी व्यवस्थित गर्ने भन्ने विषयमा समेत केही समझदारी भएको छ ।
राष्ट्रपति निर्वाचनको प्रचारकासन्दर्भमा १८ फागुनमै आठै दलका संघीय सांसदबीच बैठक र छलफल गर्ने निर्णय गरेको थियो । नेता श्रेष्ठका अनुसार १९ गते प्रत्येक प्रदेशहरूमा कार्यक्रम गर्ने र त्यसका लागि नेताहरू पठाउने फागुन २३ मा सबै प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने आजको बैठकमा समझदारी भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरू एकमत रहेको श्रेष्ठको भनाइ छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । राष्ट्रपति पदका लागि आठ दलको समर्थनमा पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।














