काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । आज (बुधबार) भएको खेलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तलेर पराजित गर्दै मछिन्द्रले उपाधि हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउनमा मछिन्द्रले बाजि मार्यो ।
मछिन्द्रलाई उपाधि दिलाउन गोलकिपर विशाल श्रेष्ठ नायक बने । उनले सातदोबाटोको लागि तेस्रो पेनाल्टी प्रहार गरेका अब्दुल लतिफको पेनाल्टीलाई रोकेका थिए ।
पेनाल्टीमा मछिन्द्रका लागि रन्जित धिमाल, दिवाकर चौधरी, कप्तान सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरे । सातदोबाटोका लागि निरज चौधरी, दीपनेराज सिंह र एकराज बुढाथोकीले गोल गरे ।
त्यसअघि खेलको पाँचौं मिनेटमा मछिन्द्रका ओलावाले अफिजले गोल गर्दै अग्रता दिलाएका थिए । सातदोबाटोका जोर्डन जुनियर ओवानाले बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
उपाधि विजेता मछिन्द्रले १० लाख प्राप्त गरको छ भने उप–विजेता सातदोबाटोले ५ लाख पाएको छ ।














