Logo
Logo

प्रधानसेनापति शर्माद्वारा पूर्वप्रधानसेनापति शिवरामसिंहको शालिक अनावरण


882
Shares

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका पूर्वप्रधानसेनापति शिवरामसिंह बस्न्यातको पुर्ण कदको शालिक अनावरण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच शालिक अनावरण गरिएको हो ।

सो शालिकको २०७७ सालमा पूर्वप्रधानसेनापति पुर्ण चन्द्र थापाले शिलान्यास गरेका थिए । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपालको इतिहास निर्माणमा नेपाली सेनाको उल्लेखनीय भुमिका रहेको बताए ।

बि.सं १७७१ सालमा गोरखामा जन्मेका नेपाली सेनाका पूर्वप्रधानसेनापति बडावीर शिवराम सिंह बस्न्यातले नेपाल एकीकरणका समयमा बि.सं १८०३ फागुन ५ गते हालको काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं ३ को साँगाचोकको द्वारेटोलमा वीरगती प्राप्त गरेको इतिहासमा उल्लेख छ । उनी नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका प्रथम सेनापति थिए ।

श्रीपाली बस्न्यात समाजले करिब २२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको सो शालिक ढलौटबाट बनेको समाजका अध्यक्ष निरन्जनमान सिंह बस्न्यातले बताए ।

शंखरापुर नगरपालिका वडा नं ३ मा सो शालिक, पार्क तथा सैनिक संग्राहलय निर्माणका लागि करिब ३ रोपनी जग्गा उपलब्ध गराइएको शंखरापुर नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष सन्तबहादुर वाईबाले बताए ।

कार्यक्रममा समाजका सदस्य, पूर्व तथा बहालवाला नेपाली सेनाका अधिकारी, प्रहरी तथा सशत्र प्रहरी अधिकारी, शंखरापुर नगर प्रमुख, वडा अध्यक्ष तथा पूर्व जनप्रतिनिधि र स्थानियबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्