काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेका छन् ।
भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो गुनासो गरेका हुन् ।

उनले भने, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधाहरु रहेछ ।’
पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप बताए ।
उनले भने, ‘यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र ? कस्तो लाग्छ ? तपाईहरुलाई । यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे म । म सानो भुइँमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ । भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ । पहिला पुरुष उपसभामुख हुँदाखेरि चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे ।’
आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको रानाले बताए । उनले भने, ‘उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’










