Logo
Logo

पूरा पढ्न सकिन, हतारमै बन्द गरिदिएँ



जीवनमा अनेक किसिमको उतार चढाव आइरहनु स्वाभाविक हो । तर कहिलेकाहिँ नसोचेको घटना हुँदा समुद्रको छालले हुत्याइदिएर आफू जीवनको किनारामै फ्याँकिएजस्तो पनि अनुभव हुन्छ । तराईको गर्मीले सीमा नाघेको त्यो बेला त्यस्तै भयो ।

एकदिन बच्चालाई कपडाको झोलुङ्गो बनाएर सुताइराखेकी थिएँ । दिउँसो एक बजेतिर बच्ची नरोइकन उँ..उँ मात्र गरिराखेकोले बिउँझी कि भनेर हेर्दा बेस्सरी ज्वरो आइरहेको रहेछ । लौ न के भयो बच्चालाई भनी काखमा राख्दा त आँखा पल्टाएर हिक् हिक् पो गर्न थाली ! म बेस्सरी आत्तिएँ । मनु पनि आत्तिइन्, बच्चाको त्यो अवस्था देखेर ।

बाहिर बेस्सरी गर्मी थियो, चर्को घाम थियो । अब के गर्ने ? कहाँ लाने ? स्कूलको प्रिन्सिपललाई बोलाएर देखायौं । उनी पनि त्यो देखेर आत्तिए । हतार–हतार नजिकको कम्पाउण्डरकहाँ लिएर गयौं । केही औषधि त दिए उनले, तर ‘अस्पताल नै लिएर जानोस्’ भनेर सुझाव पनि दिए ।

हतारमै अस्पतालमा पुर्यायौं बच्चालाई । अस्पतालमा बाल विशेषज्ञ थिएनन् । अझै ठूलो अस्पतालमा लिएर जाने सल्लाह दिए इमर्जेन्सिका डाक्टरले– ‘मेनिन्जाइटिस पनि हुनसक्छ’ भन्दै । सबै आत्तिएर विराटनगरको बसमा चढ्यौं ।

म घरकै कपडामा थिएँ । विराटनगर जान लागेको कुरा थाहा पाएर मनुले बच्चाको र मेरो लागि कपडाको पोको ल्याइदिइन्, बसस्टपमै । हामी सबै आत्तिनु बाहेक अरु केही गर्न सकिरहेका थिएनौँ ।

विराटनगर पुग्न चार घण्टा लाग्ने सुन्दा मन झनै आत्तियो । बच्चाको अनुहार हेर्छु, ऊ अझै पनि हिक्हिकाउन छोडेकी थिइन । पानी बोकेकी थिएँ, अलिअलि ख्वाइरहेँ । ऊ रोएकी पनि थिइन । त्यो कहालीलाग्दो चारघण्टा छोट्याउने कुनै उपाय थिएन । मनमा चिन्ता बाहेक अरु केही थिएन ! संगै बसेका कामरेड पनि अपरिचित जस्तो लाग्न थाले । बाटोभरी एक शब्द निस्केको होइन ।

मेरो त सर्वस्व नै त्यही मुटुको टुक्रा बच्ची थिई । उसको त्यो अवस्थाले म केही बोल्नेमात्र हैन, सोच्नसम्म पनि नसक्ने भएकी थिएँ । कहिल्यै नहिंडेको बाटो थियो मेरो निम्ति– दुई घण्टा गाडी गुडेपछि कहाँ पुग्यौं कुन्नी, बच्चीले बिस्तारै आँखा खोली । टाउको छाम्दा भत् भत् पोल्ने अघिको ज्वरो पनि अलिकति कम भएको जस्तो लाग्यो । कम्पाउण्डरले दिएको औषधिको प्रभाव थियो कि बसको झ्यालबाट आएको हावाको, ज्वरो कम हुँदै गयो र उसले आँखा खोली । यताउता टाउको घुमाएर हेर्न थाली । अनि सधैं झैं हास्न पनि थाली । हामी ‘दाजु बहिनी’ पनि बच्चीको अवस्थामा सुधार देखेर हाँस्न थाल्यौं । अनि भने विराटनगरको अस्पतालमा कति बेला पुगियो, यादै भएन ।

बाल विशेषज्ञलाई खबर भैसकेको रहेछ– प्रिन्सिपल कमरेडका भाइ विराटनगरका एक सुपरिचित व्यक्ति हुनुको कारण पनि फोनमा कुरा भैसकेको रहेछ, घरबाटै । डाक्टर भेट्ने बेलासम्ममा त ज्वरो हराइसकेको थियो ।

डाक्टरले ‘त्यस्तो आत्तिनु पर्दैन, कुनै कुनै बच्चाहरुलाई ज्वरो आउँदा ‘कन्भल्सन’ हुन सक्छ’ भने पछि मनको भारी आफै बिसाएझैं सञ्चो भयो । अनि सम्झिन थालें– बच्चामा मलाई पनि जरो आउँदा आँखा पल्टाउने गर्थें रे । आमा आत्तिएर देउता चढेको भनेर धूप बालिदिनु हुन्थ्यो रे ।

आमा हुनु भनेको बच्चा जन्माउनु मात्र होइन, बच्चाको हरेक क्षणको अवस्थासँग परिचित हुनु, होस् पुर्याउनु, अनेक चुनौतीसँग सामना गर्नु पनि रहेछ ! जुन कुरा बच्चा आफैँलाई थाहा हुँदैन । नयाँ घटना हुनु अगाडि आमालाई पनि केही पूर्वाभास हुँदैन । बाबुहरु त प्रायः बाहिरै हुन्छन् ।

त्यो रात विराटनगरमा हामी प्रिन्सिपलकै भाइको डेरामा बास बस्यौं । हार्दिकता पाएँ । छोरीका बुवा सरोज भने त्यही रात हामी बस्ने ठाउँमा खबरै नगरी पुगेका रहेछन् । संयोग पनि कस्तो ! कोठामा छोरी र छोरीकी आमा दुवै नभेटेपछि बेस्सरी आत्तिएछन् । कति आत्तिएछन् भनि म अनुमान पनि गर्न सक्दिन ।

बच्चालाई ‘मेनिन्जाइटिस्’ भएको शंका राजबिराजको अस्पतालले गरेको भएर घर भरिका सबै नै डराईसकेका रहेछन् । घरमा अरुलाई पनि सर्ने हो कि भनेर घरको सरसफाइ समेत गर्दै रहेछन् ।

भोलिपल्ट सहज तरिकाले कपडा फेरेर बच्ची च्याप्दै म पुनः बस चढी स्कूल फर्किएँ । सोच्दै सोचेकी थिइन– सरोजसँग भेट होला भन्ने ! छक्क परेँ ।

त्यो बेलासम्म फुच्चीलाई धेरै सहज भैसकेको थाहा पाएर सबैको मनमा उत्पन्न भएको ‘मेनिन्जाइटिसको भूत’ पनि पन्छिएयो । ती दुई दिन सहज असहज, दुःख सुख सबै मिस्सिएर बिते । राती निदाउन नसकेको बेला, सरोजको डायरीमा आँखा पर्याे ।

गएको राती एक्लै भएका बेला लेखेका अक्षरहरु रहेछन्–
‘…जीवन झन् झन् चुनौतीपूर्ण हुँदै हुँदै गइरहेको छ । मेरी प्रियाको मनस्थिति झन् झन् बलियो भइरहेको बेला, यी चुनौतीहरुलाई एक एक गर्दै पछार्न सफल हुनेछु र मेरो संघर्षमा सबभन्दा घनिष्ट सहयोद्धाको रूपमा सुलो मसँगै कार्यरत हुनेछिन् भन्ने सपना देख्नु अस्वाभाविक थिएन । हिजो रमाउँदै यहाँ आइपुगेको थिएँ ।

‘… तर कोठामा बत्ति बलेको थिएन । मैले ढोका ढकढकाएँ । मनुले ढोका खोल्नुभयो । त्यो खाट जहाँ सुलो र सानी छोरी सुतिरहेको हुनुनपर्ने थियो, खाली थियो । … फुच्ची बिरामी भएको र विराटनगर लानु परेको कुरा थाहा पाएँ । …. मेनिन्जाइटिसको शंका गरेको कुरा सुन्दा म शीताङ्ग भएँ …’

‘आफू आत्तिएको, पिरिएको नदेखाउन मैले सक्दो कोशीस गरेँ, अझै गर्दैछु । तर आफैँलाई ढाँट्न त कहाँ सकिन्छ र ? ट्रङ्क कल गर्ने चाहनालाई जबर्जस्ती रोकिरहेको छु । … आज दिनभर पर्खिएर बस्न गाह्रो भइरहेको छ’

‘सुलो– मेरी बहादुर सहयोद्धा ! सधैँभन्दा यतिबेला उनको मायाँ धेरै लागिरहेकोछ अहिले । तर आफूलाई कठोर बनाउनै पर्छ … कम्युनिष्टहरु अरुभन्दा भावुक हुन्छन्, कल्पनाशील हुन्छन्, संवेदनशील हुन्छन् । तर यो सबलाई– आफ्नो भावुकता, कल्पनाशीलता र संवेदनशीलतालाई दृढता, आस्था र साहसले बुनेको मुटुमा लुकाएर, जोगाएर राख्छन् । त्यसैले उनीहरुको मुटु सबभन्दा रातो हुन्छ । मैले आफूलाई कठोर बनाउनै पर्छ ।’

यी लाइनहरु देख्दा मेरो आँखा यसै भिज्न खोज्यो । हतारमै बन्द गरिदिएँ, पुरा पढ्न सकिन ।

त्यो डायरी अझै मसँग छ । अहिले पनि पल्टाउँदा लाग्छ– त्यतिबेला हामी साँच्चै कति कठोर रहेछौँ ! तर आफैँप्रति, देशप्रति, जनताप्रति, आस्थाप्रति वफादार थियौँ । त्योबेलाका हाम्रा कतिपय सहयोद्धाहरु अझै कठिन बाटाहरु पार गर्दै थिए । तर त्यही बाटो पार गरेरै आएका मान्छेहरू आज कसरी यति फरक भए ? बुझ्न सकिरहेकी छैन ।

प्रतिक्रिया दिनुहोस्