काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

कांग्रेस ओखलढुंगा काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए । उनले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे ।
नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद बिघटन गरेर जनतामाझ जान पाउन भएपनि संविधानमा नै पाँच बर्ष सम्म संसद बिघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरु निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे । त्यस्तै उहाले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलव्धीको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिए ।











