काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांग्रेसलाई नै गाली गर्ने दिन आएको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने पनि बताए ।
गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांग्रेसले न्याय गरेको भन्दै धेरै युवा उनलाई मतदान गर्न आतुर रहेको उनको भनाई थियो । तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराई भएकाले उनको जित अनिवार्य रहेको भन्दै हामन्त्री शर्माले देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको उल्लेख गरे । देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा नहुने महामन्त्री शर्माले बताए ।
‘देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ तर देशलाई बनाउँछौँ भन्ने दृढ सङ्कल्प बोकेका छौँ, ‘महामन्त्री शर्माले भने । आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो । राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दैै उहाँले राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको बताए । पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको उनले बताए ।











