काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको प्रतिनिधिसभा बैठकमा विरोध भएको छ । बुधबार आज बसेको बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद सरस्वती सुब्बाले सरकारले जग्गा कित्ताकाट गर्ने निर्णयको विरोध गरेकी हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । बैठकमा बोल्दै सांसद सुब्बाले भनिन्, ‘मन्त्रिपरिषदको बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दुःख लाग्यो । नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हकअन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवासलगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।’
नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको भन्दै उनले तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदापनि कार्यान्वयन नभएको पनि बताइन् । सांसद सुब्बाले भनिन्, ‘भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम गर्नु हो ।’











