काठमाडौं । प्रतिनिधिसभा बैठकमा अख्तियारको कर्मचारीमाथि प्रश्न उठेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले अख्तियारकै कर्मचारीबाट भ्रष्टाचार हुने गरेको आशय व्यक्त गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संशोधित ऐनबारे छलफलमा भाग लिँदै सांसद दाहालले उजुरी परेपछि मुद्धा चलाउँ कि नचलाउँ भनेर सोध्ने गरेरअख्तियारीकै कर्मचारीले भ्रष्टाचार गर्ने बताएका हुन् । विगतदेखि अख्तियार दुरुपयोग अनुसन्धानबाट उद्देश्यअनुरुप कार्य सम्पादन हुन नसकेको भन्दै उनले अख्तियारमा दुई किसिमको उजुरी आउने पनि बताए ।
‘एउटा आफ्ना विरोधीलाई तह लगाउन र अर्को भ्रष्टाचारजन्य गतिविधिसँग जोडिएर उजुरी पर्ने गर्छ’ उनले भने, ‘तर, भ्रष्टाचारजन्य गतिविधिसँग जोडिएका उजुरीमा समेत अख्तियारका कर्मचारीले सोध्ने चलन छ । तपाइँको उजरी आयो मुद्दा चलाउ कि नचलाउ भनेर सोध्छन् । नचलाउने भने त्यही ढंगले भेट्नु पर्यो । चलाउने हो त्यही ढंगले भेट्नु पर्यो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति हुन नहुने उनको भनाइ छ ।
उनले भने, ‘जो लामो समयसम्म निती निर्माणको तहमा बसेर नितिगत भ्रष्टाचार र ऐन कानुनका छिद्रहरु सुनियोजित ढंगले राखेर अकुत लाभ आर्जन गरेका व्यक्तिहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा राख्ने हाम्रो कार्यविधि र अभ्यास नै गलत छ ।’ आयोगमा नियुक्ती सम्बन्धी मापदण्ड नै बदल्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सबैखाले संवैधानिक आयोगहरुमा राजनीति नियुक्ति हुनुहुँदैन । राजनीतिक निुयक्ति बाहेकका सवैधानिक आयोगका नियुक्तिहरुमा लोकसेवा आयोगलाई प्रयोग गर्नुपर्छ ।’ अब संशोधित ऐनमा यस्ता छिद्रहरु रोक्न सक्नेगरी छलफल गरेरमात्र पास गर्नुपर्ने उनले उल्लेख गरे ।











