
काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापालाई राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त गरिएको बिषयमा यतिबेला चर्चासँगै विरोध भइरहेको छ ।
थापालाई नै किन सल्लाहाकार ? भनेर सबैतिर जिज्ञासा पनि उठेको छ । उक्त कदमले राष्ट्रपतिलाई नै विवादमा पारेको छ ।बाहिर मात्र नभै कांग्रेसभित्रै पनि थापाको बिषयमा राष्ट्रपतिबाट काँचो निर्णय भएको टिप्पणी भइरहेको छ ।
सुनिल पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनी पूर्वमन्त्री र कांग्रेसको सहमहामन्त्री समेत भइसकेका व्यक्ति हुन् ।सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला २०३६ साल कात्तिक २७ गते धनकुटाको खोकू छिन्ताङमा १६ जना कलाकारमाथि गोली हानेर एकै चिहान पारिएको थियो ।
२०३६ सालमा तत्कालीन पञ्चायती राज्य व्यवस्थाको विरोधमा उत्रेका शहिदलाई थापाकै गृह जिल्ला धनकुटामै निर्ममतापूर्वक हत्या गरिएको थियो । सूर्यबहादुरकै डिजाइनमा छिन्ताङमा चलिरहेको एक सांस्कृतिक कार्यक्रमका प्रहरी लगाएर गोली हानिएको आरोप अहिलेसम्म लाग्दै आएको छ ।
संयोग नै भन्नुपर्छ छिन्ताङमा सहादत प्राप्त गर्नेलाई कांग्रेसकै सभापति शेरबहादुर देउवा सरकार प्रमुख भएका बेला शहीद घोषणा गरिएको थियो । उक्त घटना मात्र नभै पञ्चायती व्यवस्थाका मसिहा मानिने उनै थापाका छोरा लोकतन्त्र स्थापनापछि राष्ट्रपतिको हर्ताकर्ता हुन पुगेका छन् । जुन व्यवस्थाका विरुद्ध राष्ट्रपति पौडेलले अनेक हण्डर र ठक्कर खाँदै १४ बर्ष जेल जिवन विताएका थिए ।
नवप्रवेशीलाई राष्ट्रपतिको सल्लाहार बनाइएपछि राजनीतिक क्षेत्रमा मात्र नभै सबैतिर अनेक कोणबाट यतिवेला टिकाटिप्पणी भइरहेको छ । कांग्रेस स्रोतका अनुसार सभापति देउवा आफै पनि नियुक्ति प्ररकणमा असन्तुष्ट छन् ।
कांग्रेसको संस्थापन इतर समूह पनि कांग्रेसको सहमहामन्त्री भइसकेको व्यक्ति सेरेमोनियल राष्ट्रपतिको सल्लाहकार बनाइएको बिषयमा असन्तुष्ट रहेको बताइन्छ । यद्यपि, संस्थापन र इतर शेखर–गगन समूहले मुख खोलेको छैन । सुनिलले सल्लाहाकारका लागि वातावरण बनाइदिन भारतीय राजदूत नविन श्रीवास्तवलाई समेत भेटेको प्रसङ्गहरु समेत बाहिरिएका छन् ।
भारतीय राजदुतले कांग्रेस सभापति देउवालाई समेत सुनिललाई सल्लाहाकार बनाउन दबाब दिएको संस्थापन निकट स्रोतको दाबी छ । ‘भारतिय राजदूतले राष्ट्रपतिलाई भेटेरै सुनिलको बिषयमा कुरा गरे कि भन्ने आशंका छ,’ कांग्रेस संस्थापन इतर स्रोत भन्छ ।
सबै चिजले पुगिसरी भएका सुनिल जागिरकै लागि किन सल्लाहकार बन्नुपर्ने बाध्यता पर्यो भन्ने प्रश्नहरु पनि राजनीतिक बजारमा उठिरहेका छन् । शेरेमोनियल राष्ट्रपतिको राजनीतिक सल्लाहकार बन्नुको पछाडि भारतीय स्वार्थसँग जोडेर समेत हेरिएको छ ।
बाह्य शक्तिकेन्द्रले आफ्नो प्रतिनिधिका रूपमा स्थापित गरेकोसम्मका टिप्पणी समेत राजनीतिक बजारमा चलिरहेका छन् । यसअघि राष्ट्रपति डा.रामवरण यादव र विद्या भण्डारीले पनि विज्ञ सल्लाहकार राखेका भए पनि विवादमा परेको थिएन ।
सुनिल कांग्रेसकै कार्यकारी तहमा रहेका नेता हुन् । सुनिल राप्रपाबाट कांग्रेस प्रवेश गरेको पनि धेरै समय भएको छैन । पहिले त सुनिल आफैले नैतिकता र मर्यादाको ख्याल राख्नुपर्ने थियो । दोस्रो, ६ दशक लामो राजनीतिक अनुभवले खारिएका राष्ट्रपति आफैले यति सानो मामिलामा किन विवेक पुर्याएनन् ? भन्ने प्रश्न खडा भएको छ ।
यतिबेला राजनीतिक मामिलाका जानकार नै खानेले के खाने र दिनेले के दिने भनेर ख्याल नगरेको टिप्पणी गर्दैछन् । छोटो राजनीतिक यात्रा रहेका सुनिल राजनीतिक मामिलाका त्यतिविधि विज्ञ जानकार पनि होइनन् ।
यसरी राष्ट्रपति पौडेलको टीममा सुनिल थापाको प्रवेशलाई अमिल्दो र अस्वाभाविक रूपमा लिइएको छ । एक कोणबाट मात्र होइन, अनेक कोणबाट प्रश्न खडा भएका छन् ।











