Logo
Logo

नबिल बैंकको नाफा ५२ प्रतिशतले वृद्धि


189
Shares

काठमाडौं । नबिल बैंकको नाफा ५२.६३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म बैंकले पाँच अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा उलेख्य वृद्धि भएसँगै बैंकको नाफामा पनि वृद्धि भएको हो । चैत मसान्तसम्म बैंकले खुद ब्याज आम्दानीबापत १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म यो बैंकले ब्याज आम्दानीबापत ६ अर्ब ५९ करोड दुई लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफामा पनि वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म चार अर्ब ७८ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा भने यस्तो नाफा सात अर्ब ४८ करोड ६६ लाख पुगेको छ ।

बैंकको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख पुगेको छ । गत वर्षको चैत मसान्तसम्म यो बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ थियो ।

बैंकले उक्त अवधिसम्म तीन खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्ष तीन खर्ब २० करोड ऋण लगानी गरेको थियो । एक वर्ष ऋण लगानी २३ अर्ब बढेको देखिन्छ ।

त्यस्तै बैंकले चैत मसान्तसम्म तीन खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष यो बैंकले तीन खर्ब २६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको खराब कर्जामा भने उलेख्य वृद्धि भएको छ । गत वर्षको चैतसम्म १.१४ प्रतिशत भएको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ३.८७ प्रतिशत कायम भएको छ । बैंकको स्प्रेड रेट पनि वृद्धि भएको छ । यो बैंकको स्प्रेड रेट ५.१५ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्