काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितु रहेका छन् । उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट १ केजी ८० ग्राम लागुऔषध कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सो लागुऔषध केन्याकी पिलिसिलाले इथिओपियाबाट काठमाडौँसम्म ल्याइदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिलिसिलाले लेडिज ब्यागमा फल्स बटन बनाएर सो कोकिन काठमाडौंसम्म ल्याएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीका अनुसार बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख रुपैयाँ बराबर पर्नेछ । आरोपीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।











