Logo
Logo

बढुवा भएका डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान


2.5k
Shares

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा पदोन्नति भएका १३ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षकमा कुबेर कडायत, केदार ढकाल, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाशराज खनाल रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिएका ।

नेपाल सरकार गृहमन्त्रालयलगायत नेतृत्व तह प्रहरी संगठनलाई सुधार, सुदृढिकरण र सवलिकरण गर्नमा प्रतिवद्ध रहेकाले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताए ।
पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको प्रदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने चर्चा गर्दै प्रहरीको कार्यसम्पादन तथा प्रहरीले प्रवाह गर्ने सेवामा स्तरोन्नति हुने उल्लेख गरे ।

नागरिकको मर्का र समस्यालाई सहजीकरण गर्दै तल्लो तह र सिमान्तकृत वर्गको सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

कुनैपनि आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले तस्करी, सीमा अपराध र राजश्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नुपर्ने बताए । नेपाल सरकार गृहमन्त्रालयको नीति र नागरिकको चाहनाअनुसार प्रहरीको काम कारबाहीलाई अझ बढी चलायमान बनाउँदै संगठनलाई थप मजबुद बनाउन कटिवद्ध हुनुपर्नेमा उनले जोड दिए ।

पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको श्रीवृद्धिमा समर्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्