
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘हिट स्ट्रोक’ अर्थात ‘लु’ बाट बच्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्न सक्ने भएकाले यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।
नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताए ।
तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ । जस्तै: लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लु लाग्छ ।
लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना समेत रहन्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ ।
लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने जस्ता समस्या देखा पर्दछन् ।
कसरी बच्ने ?
लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयले भनेको छ ।











