काठमाडौं । चीनसँग जोडिएको किमाथांका नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री समक्ष आग्रह गरिएको छ । नेपाली कांग्रेस संखुवासभाका सभापति एवं प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर किमाथाङ्का नाका चाँडो सञ्चालनका लागि उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरेको हो ।

भेटमा सांसद खड्काले कोरोना महामारीबाट रोकिएको किमाथाङ्का नाकालाई दोहोरो रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।
‘सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्का पुग्न झण्डै सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवननिर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस् भन्नका लागि तत्काल नाका सञ्चालनका लागि आग्रह गर्दछु’, सांसद खड्काले भने ।
पूर्व राज्यमन्त्रीसमेत रहेका खड्काले किमाथाङ्का नाका सञ्चालनमा आएमा कोशी प्रदेशले नै लाभ लिनसक्ने भएकाले यसलाई विशेष चासो दिनुपर्ने बताए । सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले किमाथाङ्का नाका सञ्चालन नहुँदा ६ हजार जनसंख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए ।
उनले देशको पूर्वी क्षेत्रको व्यापारका लागि महत्वपूर्ण नाकालाई यथाशीघ्र सञ्चालन गर्न मन्त्रीसमक्ष आग्रह गरे । भेटमा परराष्ट्रमन्त्री साउदले सरकारले सङ्खुवासभाको किमाथाङ्का नाका सञ्चालन गर्न उच्च प्राथमिकता दिएको बताए । उनले दुईपक्षीय व्यापार सम्बन्धमा समेत यो नाकाले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उक्त नाका चाँडो सञ्चालन गर्न आवश्यक पहल भइरहेको स्पष्ट पारे ।
भेटमा मन्त्रालयका सहसचिव लोकबहादुर थापाले नेपाल–चीन परराष्ट्रस्तरीय बैठकबाट चीनसँग जोडिएका हुम्ला, रसुवा र तातोपानी नाका सञ्चालन भइसकेको जनाउँदै किमाथाङ्का, ओलाङचुङगोला र मुस्ताङ नाकासमेत चाँडो सञ्चालनमा आउने बताए । भेटमा सङ्खुवासभाका जनप्रतिनिधि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागित थियो ।











