Logo
Logo

अग्रज नेताको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : देउवा


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका छन्।

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।

सभापति देउवाले भने, ‘पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।’

स्व आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लड्नुभएका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गरे ।

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभहानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने औँल्याए ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गङ्गालक्ष्मी अवाल, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य, पार्टीका निर्वाचन क्षेत्र नंं २ का सभापति भेषबहादुर कार्की लगायतले नेता आचार्यको योगदानलाई पार्टीले कदर गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई रु २५ हजार नगदसहित जगन्नाथ आचार्य स्मृति पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्