Logo
Logo

ढुङ्गाले लागेर अरुण तेस्रोका एक मजदुरको मृत्यु


630
Shares

किमाथाङ्का । सङ्खुवासभामा निमार्णाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका-५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु-५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।

घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

अरुण तेस्रो जलविद्युत आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा उपचारको समस्या भएको छ । मजदुरलाई चोटपटक लागेर घाइते भएर समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था छ ।

आयोजनास्थलमा काम गर्ने मजदुरको समय-समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् । विद्युतगृहस्थलमा ‘पटेल इञ्जीनियरिङ’ र ड्यामसाइडमा ‘जयप्रकाश एशोसिएटस् कम्पनी’ले काम गरिरहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने बताइएको छ । अरुण तेस्रोको क्षमता ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्