Logo
Logo

सेनाका तालिमरत अधिकृतद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन


2.6k
Shares

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.११ का तालिमरत ३३ जना महासेनानीहरूलगायत जम्मा ३६ जना अधिकृतहरुबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरेका छन् ।

सो क्रममा उनीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबसमेतको अवलोकन गरेका थिए । साथै, उनीहरूले बुधबार नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समेत अवलोकन भ्रमण गरेका थिए ।

अवलोकनपश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गरे ।

अन्तरक्रियामा तालिमरत अधिकृतहरूले नेपाल प्रहरीसम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभिन्न जनचेतनामूलक कार्यक्रमलगायत नागरिकले गरेका अपेक्षाअनुसार काम गर्ने दुवै संगठनबिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र नेपाली सेनाका सहायक रथी डा.रञ्जित थापाले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्