Logo
Logo

गृहमन्त्रीले किन गरे विवादितलाई हज कमिटीको अध्यक्षमा नियुक्ति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुशासन कायम गराउने पवित्र उद्देश्यका साथ अगाडि बढेका छन् । तर उनको मन्त्रिपरिषदका सदस्य र सल्लाहकारहरु भने एकपछि अर्को विवादास्पद निर्णयहरु गरी सरकारलाई बदनाम गर्नेहरुलाई मौका दिइरहेका छन् । यसैक्रममा पछिल्लो पटक गृहमन्त्री रामबहादुर थापाले संस्थागत निर्णय विपरीत हज कमिटीको अध्यक्षमा विवादास्पद पृष्ठभूमिका समशेर मियाँलाई नियुक्त गरेका छन् । जुन निर्णयको नेकपा निकट मुस्लिम संघ संगठनले नै बिरोध गरेका छन् । गृहमन्त्री थापाका पुत्र प्रतीक थापामार्फत् ठूलो रकमको चलखेल गरी मियाँ हज कमिटीको अध्यक्षमा नियुक्त भएका छन् । नेकपा निकट मुस्लिम संघ संगठनले विवादित मियाँलाई नियुक्त नगरियोस् भनी प्रधानमन्त्री केपीदेखि अध्यक्ष पुष्पकमल दाहाललाई समेत अनुरोध गरेका थिए । तर नेकपाका नेता टोपबहादुर रायमाझीदेखि गृहमन्त्री पुत्रलाई प्रभावमा पारी मियाँ मन्त्रीस्तरीय निर्णयबाट हज कमिटीको अध्यक्ष भएका छन् ।

समशेर मियाँ

नेकपा निकट मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चाले संयुक्त रुपमा बैठक बसी हज कमिटीको अध्यक्षमा ताज मोहम्मद मियाँ र मकसुद अलीलाई नियुक्तिका लागि संस्थागत रुपमा सिफारिस गरेका थिए । संगठन साविक एमाले निकट हो भने मोर्चा माओवादी केन्द्र निकट हो । संस्थागत रुपमा नाम दिएपछि प्रधानमन्त्री केपी ओलीले दुवै संगठनका नेताहरुलाई सिफारिस अनुसार नै गर्ने आश्वासन दिएका थिए । संगठन र मोर्चाको टोलीले नेकपा अध्यक्ष दाहाललाई पनि भेटेर सबै प्रष्ट पारेको थियो । बोर्डरमा बसेर तस्करी गर्ने मियाँ जस्तालाई नियुक्त नगर्ने आश्वासन अध्यक्ष दाहालले पनि दिएका थिए । गृहमन्त्री थापालाई उनले मियाँलाई नियुक्त नगर्न भनेका पनि थिए । संगठन र मोर्चाका नेतासहित नेकपाका मुस्लिम समुदायका ५ केन्द्रीय सदस्यले ओली र दाहाललाई भेटेर मियाँलाई हज कमिटीको अध्यक्ष नबनाउन आग्रह गरेको थियो । तर नेकपाका दुवै अध्यक्ष ओली र दाहालको आश्वासन विपरीत गृहमन्त्री थापाले उनलाई हज कमिटीको अध्यक्ष नियुक्त गरेका छन् । एक बर्षअघि कांग्रेस नेतृत्वको सरकारले बनाएका हज कमिटीका अध्यक्ष मोहम्मद सोहेवलाई एक महिना अवधि छँदाछँदै मियाँले प्रलोभन दिएर राजीनामा गराई रातारात नियुक्त भएका छन् । सोहेवको १ महिना कार्यकाल बाँकी थियो । तर मियाँले उनलाई १० पेटी दिएपछि उनले राजीनामा दिए । र, मियाँ नियुक्त भएका हुन् ।
हज कमिटीको अध्यक्ष नियुक्ति यसअघि मन्त्रिपरिषदले गर्दैआएको थियो । तर प्रधानमन्त्री ओलीले मियाँ जस्ता विवादित पात्रलाई नियुक्त नगर्ने संकेत पाएपछि गृहमन्त्री थापाले मन्त्रीस्तरीय निर्णयबाट गराएका छन् ।
टोपबहादुर रायमाझी स्थानीय विकास मन्त्री हुँदा मुस्लिम आयोगको ४ बर्ष सदस्य सचिव भएका मियाँ भ्रष्टाचारमा मुछिएका र कुनै पनि काम गर्न नसकेको भनेर आलोचित भएका थिए ।
तस्करीका नाइके पैसाकै बलमा बने अध्यक्ष
मियाँ कपिलवस्तुको कृष्णनगर र रुपेन्देहीको भैरहवा भन्सारबाट भन्सार छलीका सामान तस्करी गरी रातारात बीसांै करोड आर्जन गर्ने तस्कर हुन् । भैरहवा, कृष्णनगर र नवलपरासीको महेशपुर जस्ता भन्सार कार्यालयहरुबाट मियाँले भन्सार नै नतिरी सामान ओसारपसार गर्दैआएका छन् । ती भन्सार नाकाबाट सबैभन्दा बढी तस्करीका सामान नेपाल भित्र्याउने मियाँ नै हुन् । उनले मोटरपार्टस्, लत्ताकपडा जस्ता सामानहरुको न्यून बिजकीकरण गरी भित्र्याउने गरेका छन् । उनले लामो समयदेखि भारतबाट भन्सार छली गरिएका सामान नेपालमा ल्याउने गरेका छन् । २०६० ताका कृष्णनगर भन्सारमा एकपटक उनलाई स्थानीयले कालोमोसो लगाएर लखेटेका थिए ।
ठूलो रकम खर्च गरी हज कमिटीका अध्यक्ष भएका मियाँले अब हज गर्न जानेहरुसँग चर्को रकम असुली गर्ने र लगानी उठाउने आशंका मुस्लिम समुदायले गरेका छन् । मुस्लिम समुदायमा हज गर्न जानु ठूलो पुण्यकर्म हो । मुस्लिमहरुको पवित्र स्थानका रुपमा साउदी अरबको मक्का मदिनालाई लिइन्छ । र, मक्का मदिनामा हज गरेर आएपछि मुस्लिम समुदायमा ठूलो इज्जत र प्रतिष्ठा हुन्छ । हज गएकाहरुलाई हाजी भनेर सम्मान गर्ने हुनाले पनि हज गर्नका लागि मुस्लिमहरु जति पनि खर्च तयार हुन्छन् । त्यही भएर हज कमिटीको अध्यक्षको नियुक्ति हुनका लागि मियाँहरुले ठूलो आर्थिक चलखेल गर्ने गरेका समाचारहरु आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्