
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नता देखिएका पूर्वउपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आइतबारै साँझ जिल्ला प्रहरी परिसर टेकु लगिएको थियो ।
जहाँ परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई सोधे, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ रायमाझीको जवाफ थियो, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’
परिसरका एक अधिकृतका अनुसार रायमाझी हतास देखिएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि गत २० वैशाखमा आफैँ प्रहरीमा उपस्थित हुने बताएका रायमाझी भोलिपल्टदेखि फरार भएका थिए । उनलाई खोज्न प्रहरीको पुरै शक्ति परिचालित थियो ।
११ दिनपछि पक्राउ परेका रायमाझीलाई प्रहरीले लैनचौर वृतमा राखेको छ । काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था आएको प्रहरी स्रोतले जानकारी दियो ।














