काठमाडौं । PHP मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विश्वका धेरै देशका सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द भएका छन् । इन्टरनेटका अधिकांश वेबसाइटहरू सञ्चालनमा प्रयोग हुने यस प्रोग्रामिङ भाषामा दुईवटा खतरनाक कमजोरी पत्ता लागेपछि साइबर सुरक्षा निकायहरूले तत्काल सुरक्षा अपडेट लागू गर्न र अपडेट गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए।

बुधवार दिउँसो यी कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी भए पनि समयमै अद्यावधिक गर्न नसक्ने संस्थाहरूले आफ्ना साइटहरू अफलाइन राखेका छन् । बिहीबार बिहानसम्म नेपालका .gov.np डोमेनका वेबसाइटहरू खुलेका छैनन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र स्थानीय तहका पालिकाका आधिकारिक साइटहरू अझै बन्द अवस्थामा छन् ।
जोखिमका कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले केही पृष्ठहरू अफलाइन गरेका छन् भने नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत आफ्नो वेबसाइट बन्द गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले सामाजिक सञ्जाल एक्स मार्फत सुरक्षा अपडेट लागू गर्न नसक्ने संस्थालाई प्रणाली अफलाइन राख्न सुझाव दिएको छ । एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म प्रत्यक्ष पहुँच दिलाउन सक्छन् । यसबाट संवेदनशील सूचना चोरी हुने वा अनधिकृत पहुँच स्थापित हुने गम्भीर जोखिम रहन्छ ।
यी दुई कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज (Wiz) ले यी कमजोरीलाई एआई प्रविधिबाट पहिचान गरिएका अहिलेसम्मकै सबैभन्दा गम्भीरमध्येका रूपमा वर्णन गरेको छ । एआईको तीव्र विकाससँगै साइबर सुरक्षा क्षेत्रमा ठूलो परिवर्तन आइरहेको छ ।
यसैबीच ह्वाइट हाउसले अमेरिकी सङ्घीय निकायहरू प्रमुख एआई प्रयोगशालासँग सहकार्य गरी सुरक्षा समस्या समाधान र अपडेट कार्यान्वयनलाई तीव्रता दिइरहेको जनाएको छ । साइबर सुरक्षा निकायहरूले अहिले पनि सबै सम्बन्धित संस्थालाई PHP को पछिल्लो सुरक्षा अपडेट तत्काल लागू गर्न र नसक्ने अवस्थामा जोखिमयुक्त प्रणाली अस्थायी रूपमा बन्द राख्न आग्रह गरिरहेका छन् ।















