
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग राखेको छ ।
पार्टी सचिव प्रेम सुवालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसको विरोध जनाएका हुन् ।
भारतले नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर तयार गरेको र यही जेठ १४ गते भारतको संसद् भवनमा राखेको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डतामाथि भारतीय विस्तारवादको हस्तक्षेप भएको जनाएको छ । भारतको यो हस्तक्षेपलाई नेपाल मजदुर किसान पार्टी विरोध एवम् भत्सर्ना गरेको छ ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको बिहीबारको बैठकले देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्विनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोध एवम् भत्सना गरिएको बक्तव्यमा उल्लेख छ ।
’राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक लाई संसद्को अनुमति बिना वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको संसद्को सर्वोच्चता र संसदीय परम्परा विपरीत हो,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ’गत मंसिर ४ को संसदीय निर्वाचनपछि गठन भएको माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीपरिषद्ले २०८० जेठ १२ गते संसद छलेर सो विधेयक प्रमाणीकरणको लागि वर्तमान राष्ट्रपतिसमक्ष अनुरोध गरेको अनाधिकार र प्रजातन्त्रविपरीत हो ।’
विज्ञप्तिमा अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयकलाई संसद्को अनुमतिविना पछिल्लो राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैमा त्यसलाई अहिले वैधानिक मान्न नसकिने पनि नेमकिपाको भनाइ छ ।











