
काठमाडौं । सरकारले संशोधित ऐनअनुसार आजदेखि नागरिकता वितरण गर्दैछ । त्यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
जेठ १७ गते राजपत्रमा नागरिकता ऐन संशोधन भएको सूचना प्रकाशित भएपछि यो कार्यान्वयनमा आइसकेको गृह मन्त्रालयको जिकिर छ ।
नयाँ ऐनमा व्यवस्था भएबमोजिम आज (आइतबार) देखि जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता प्रमाणपत्र जारी हुने मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
गृहले नागरिकता ऐन २०६३ संशोधन भई राजपत्रमा प्रकाशित भएकाले कानुनबमोजिम नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एसएमएस पठाएको हो ।
यससँगै २०७२ असोज ३ गतेभन्दा अघि जन्मेका व्यक्तिले आजदेखि नागरिकता पाउन सक्नेछन् । ऐनमा गैरआवासीय नेपाली नागरिक र बाबुको पहिचान खुल्न नसकेको आमाका सन्तानलाई भने नागरिकता दिन नियमावली आवश्यक पर्नेछ ।
नागरिकता ऐनमा बाबुको पहिचान खुल्न नसकेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ । स्वघोषणाको फाराम भने नियमावलीमार्फत आउने भएकाले तत्काल नागरिकता जारी हुनेछैन ।











