
काठमाडौं । मलेसिया भ्रमणमा पुगेको नेपाली राष्ट्रिय महिला टिमले पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको छ । आइतबार सिरिजअन्तर्गत भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो ।
त्यसअघि भएका चार खेलमा दुवै टिमले २-२ जित निकालेपछि सिरिजको अन्तिम खेल निर्णायक बनेको थियो । सिरिजको पाँचौँ खेलमा नेपालले टस जितेर पहिले घरेलु टोलिलाई ब्याटिङको निम्ता दिएको थियो । जसमा मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
११० रनको लक्ष्य पछ्याएको नेपालका लागि सिता राना मगरले सर्वाधिक ३४ रन बनाउँदा रुविना क्षेत्रीले २३ रन बनाइन्।
त्यस्तै, ज्योती पाण्डेल ११ रनमा अविजित रहँदा उनलाई अप्सरी बेगमले १५ रनमा अविजित साथ दिएकी थिइन्। नेपालले मलेसियाले दिएको १ सय १० रनको लक्ष्य १९।२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।











