
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित तीन दलले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु भएलगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय राखेर संसदमा नयाँ विधेयक ल्याउनुपर्ने उनको माग छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि साटफेर गर्नेआशयको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध गरे । राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको उनले बताए ।
तीन दलका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभासदले बैठक अघि बढाउन सकेका छैनन् ।














