
काठमाडौं । राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेकपा एमालेले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग राखे ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि सांसदहरु नबसेपछि बैठक २९ मिनेटका लागि स्थगित भएको जानकारी गराए । प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको छ ।











