
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमाथी थुनछेक बहस सुरु भएको छ । शुक्रबार अदालती वयान सकिएपछि आज जाहेरी कर्ताको तर्फबाट बहस सुरु भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै जेठ ३१ गते मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका छन् ।
शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो । टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले बहस सकिएपछि आरोपीहरुलालाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे १० दिन पछि जेठ ३१ गते आदेश गर्ने भएको तयारी गरेकाे छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबी गरेर जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।











