Logo
Logo

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


1.7k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । मन्त्रिपरिषद्‍को गत आइतबारको बैठकले आयोगको रिक्त सदस्य पदमा उनलाई नियुक्त गरेको हो ।

युनडीपीमा समेत काम गरेको अनुभव भएकी ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छन् ।
२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए ।

दलीय गठबन्धन परिवर्तनपछि केही नयाँ सदस्यहरु नियुक्त भएपनि आयोगले पूर्णता भने पाउन सकेको थिएन । यसअघि आयोगको सदस्यमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा.आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका छन् ।

नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छन् ।

यसअघि नियुक्त भएका सदस्यहरुमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ । डा.राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा छ ।

यस्तै, डा.बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वाग्मती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै वाग्मती प्रदेशको जिम्मेवारी छ ।

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता र सबै प्रदेशहरुको समन्वय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्