
काठमाडौं । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा सोमबार सुनुवाइ हुन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
यसका साथै रौतहट प्रहरी, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलगायतलाई पनि विपक्षी बनाइएको छ । तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायत विरुद्ध कारबाहीको माग गर्दै दिएको जाहेरीमा कारबाही नभएपछि सर्वोच्चमा रिट दिइएको पीडित परिवारले बताएका छन् ।
रिटमा लामो समयदेखि राज्यशक्तिको दुरुपयोग गरेर अनुसन्धान हुन नदिइएकाले ‘तत्काल अनुसन्धान गर्नू’ भनी अन्तरिम आदेश माग गरिएको छ ।
२०६३ चैतमा रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए। माओवादी र फोरमले एक ठाउँमा कार्यक्रम राखेपछि झडप भएको थियो ।














