Logo
Logo

केपी ओलीको ‘मुड’ मा भर पर्छ एमालेको अवरोध


2.5k
Shares

काठमाडौं । हिजो आइतबार प्रमुख विपक्षी सहित तीन दलको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

सरकारले नागरिकता विधेयक निष्कृय नपारेसम्म र भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले नेपाली भूमि साटफेर गर्न सकिने प्रतिक्रियाबारे माफी नमागेसम्म संसद चल्न नसक्ने एमालेको अडानपछि आइतबार बैठक स्थगित भएको थियो ।

नागरिकता विधेयकबारे एमालेको मागमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिएका छन् । तर आइतबार नै सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएको छ ।

अदालतको आदेशपछि एमालेले संसद चल्न दिने अनुमान गरिएको छ । यद्यपी संसद चल्ने नचल्ने कुरा अध्यक्ष केपी शर्मा ओलीको मुडमा भर पर्ने एमालेका एक नेताले बताए ।

‘नागरिकता विधेयकका विषयमा सर्वोच्चले नै आदशे दिइसकेको छ । यस्तो अवस्थामा हामीले संसद अवरोध गरेर केही हुन्न । तर, अध्यक्षको मुडले के भन्छ त्यसमा भर पर्छ,’ ती नेताले भने ।

बजेटमाथि छलफल गर्नुपर्ने भन्दै सभामुखले सदनको अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्न आग्रह गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे आज संसद बैठकमा प्रस्टीकरण दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्