Logo
Logo

प्रधानमन्त्रीको दुखेसो- सबैले स्वागत र बधाई दिनेछन् भन्ने सोच्दै आएँ, तर आलोचना पाएँ


2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा ‘सिमानाका विषयमा यताउता गरियो कि’ भनेर प्रश्न उठाइँदा चिन्तित भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमा समस्या समाधान गर्ने विषयमा पहिलोपटक गम्भीर रूपमा कुरा गरिएको बेला नेपालको भूमिसम्बन्धी यताउता ग¥यो कि भनेर विभिन्न खालका प्रश्न गरिनुले आफूलाई दुःखी बनाएको सुनाए ।

‘सिमानाका विषयमा यति गम्भीर कुराकानी गरिएको र सकारात्मक वातावरणसहित दुवै देश एकै ठाउँमा उभिएको र समाधान गरिन्छ भनिएको यो पहिलोचोचिमा मैले नेपालको भूमिसम्बन्धी यताउता ग¥यो कि भनेर माननीयजीहरूले राखेको देख्दा अत्यन्त चिन्तित र पीडित पनि भएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफूलाई सबैले धन्यवाद र बधाई दिन्छन् होला भन्ने सोचेर आएको समेत बताए । ‘मलाई के लागेको थियो भने, योपटकको भ्रमण के सत्तापक्ष के प्रतिपक्ष, के नेपाली बुद्धिजीवी, के नागरिक समाज सबैले स्वागत गर्नेछन् र बधाई दिनेछन् भन्ने सोच्दै आएको थिएँ । यहाँ त बडो विचित्रको तर्क–कुतर्क हुन थाले,’ उनले भने ।

साथै उनले भारतबाट मुर्रा जातको भैंसी ल्याउने विषयमा आफूलाई अनावश्यक जोडिएको समेत गुनासो गरे । ‘भैंसीको कुरा अहिले भएको कुरा होइन । आजभन्दा सात वर्षअघि नै मुर्सा भैंसी ल्याउने सहमति भएको रहेछ’, उनले हाँस्दै भने, ‘तर अहिले मान्छेले मलाई भैंसीमा चढाएर हिँडे । ल्याउन लागिएका मुर्रा जातको राँगा हुन् । तीबारे मलाई विवादमा जोडियो ।’

प्रतिक्रिया दिनुहोस्